काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी सुरक्षा बेस स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २३ औँ स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक हप्ताअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि सो बेस स्थापना गरिएको जानकारी गराएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी बढिरहेका बेला सशस्त्र प्रहरी बलको पनि सुरक्षा बेस स्थापना गरिएको छ । सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जनाको टोली परिचालन हुने गरी सो बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता राजेन्द्र खड्काले बताए । त्यसै गरी विपद्जन्य घटनामा तत्काल परिचालन हुने गरी हरेक प्रदेशमा रहने गरी ८ वटा विपद् व्यवस्थापन बेस पनि स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।
विपद् व्यवस्थापनको काममा तत्काल परिचालन गर्नका लागि ती बेस स्थापना गरिएको पनि प्रवक्ता खड्काले बताए । बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बेलले प्रतिआतंकवाद उपशाखा स्थापना गरी काम सुरु गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न सो सम्बन्धी डेस्कनै स्थापना गरेर काम भइरहेको पनि बलका प्रवक्ता खडकाले बताए ।
उनले भने, ‘बदलिँदो सुरक्षा चुनौतीको आकलन गरेर प्रतिआतंकवाद उपशाखा स्थापना गरी कार्य सञ्चालन गरिएको छ । त्यसै गरेर सोसियल मिडिया मोनिटरिङ डेस्कको स्थापना गरी सामाजिक सञ्जालको दुरुपयोगलाई निरुत्साहित गरिएको छ । साथै साईबर डेक्स समेत स्थापना गरिएको छ । त्यसले कतिपय अवाञ्छित क्रियाकलापहरूलाई रोकथाम गर्ने र त्यसलाई कारबाहीको समेत दायरामा ल्याउने गरेर ५०/६० जना मान्छे त कारबाहीमा पनि परिसकेका छन् । हाम्रो पनि, बाहिर सिभिलियन पनि ।’
सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन र सीमा सुरक्षाका लागि विशिष्ट कृत जनशक्ति तयार पार्नका लागि काठमाडौंको माता तीर्थमा पोस्ट ग्राजुयट डिप्लोमा इन सेक्युरिटी एण्ड डिसएष्टर म्यानेजमेण्ट स्टडिज प्रोग्राम नै सञ्चालनमा ल्याएको छ । सशस्त्र प्रहरी बलका अधिकृतहरुको बढुवाका लागि सो कोर्सलाई अनिवार्य उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था समेत गरिएको पनि बलका प्रवक्ता खड्काले बताए । त्यसै गरी सशस्त्र प्रहरी बलले वातावरणमैत्री कार्यक्रम अन्तर्गत आन्तरिक रुपमा प्लाष्टिकका सामग्रीहरूको प्रयोगमा सकेसम्म रोक लगाउने नीति पनि लिएको छ ।
सबै प्रदेशमा सशस्त्र प्रहरी बल नेपाल फिल्ड अस्पतालको व्यवस्था गरिएको पनि पत्रकार सम्मेलन जानकारी दिइएको छ । प्रवक्ता खड्काले फिल्डमा खटिएका सशस्त्र प्रहरीहरूलाई सोही ठाउँमा उपचारको व्यवस्था हुने गरी ती अस्पतालहरू पनि सञ्चालनमा ल्याउनुपरेको बताए ।